काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चैत २२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो। सो आईपीओ बाँडफाँट सम्पन्न भएपछि अब सर्वसाधारणलाई दोस्रो चरणको आईपीओ निष्काशन गर्न लागिएको हो।
कम्पनीको जारी पूँजी ५५ करोड रुपैयाँमध्ये २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर आईपीओका लागि स्वीकृत गरिएको थियो। जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयबासीका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएका शेयर वितरण भइसकेका छन्।
अब दोस्रो चरणमा ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित राखी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि खुला गरिन लागेको कम्पनीले जनाएको छ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओ बिक्री चैत २५ गतेसम्म खुला रहनेछ भने सो दिनसमेत आवेदन नपुगेमा बैशाख ६ गतेसम्म खुला रहनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाबाट सि–आसबामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था कम्पनीले जनाएको छ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARENP Double B Issuer Rating’ प्रदान गरेको छ, जसले औसत जोखिम स्तरका साथ दायित्व बहन गर्ने क्षमता रहेको जनाउँछ। कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

Comment