स्नो रिभर्सले आजदेखि आईपीओ निष्काशन गर्ने,कसले कति कित्ता आवेदन दिन पाउँछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले माघ १८ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोही अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको हो ।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गाँ गाउँपालिकाको वडा नम्बर ८ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र सोही गाउँपालिकाको वडा नम्बर १ देखि ७, सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाको वडा नम्बर ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितले आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ताका लागि र अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्नेछन्।

आयोजना प्रभावितले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड, ताप्लेजुङको सिरिजङ्गा–८, याम्फुदिनस्थित आयोजनास्थल, नेपाल बैंक लिमिटेडको सिरिजङ्गा शाखा, एनएमबि बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको फुङलिङ शाखा कार्यालयबाट आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।

आयोजना प्रभाविततर्फको आईपीओ निष्काशन बन्द छिटोमा चैत २३ गते र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा वैशाख ८ गते निष्काशन बन्द हुनेछ भने वैदेशिक रोजगारतर्फको आईपीओ निष्काशन बन्द छिटोमा चैत १२ गते र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा चैत २३ गते निष्काशन बन्द हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।