१२ प्रतिशतले बढेर १३ खर्ब नजिक पुग्यो आयात, व्यापार घाटा ११ खर्ब पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको आयात उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म आयात साढे १२ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ।

सोही अवधिमा नेपालबाट भएको निर्यात भने १ खर्ब ९१ अर्ब रुपैयाँमा सीमित रहेको छ। यद्यपि निर्यात २०.८३ प्रतिशतले वृद्धि भएको देखिए पनि आयातको उच्च वृद्धिका कारण वैदेशिक व्यापार घाटा बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।

तथ्याङ्कअनुसार व्यापार घाटा अघिल्लो वर्षको तुलनामा ११.२२ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा यस्तो घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो।

यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार १३ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल व्यापार १३ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.०९ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १२.९१ प्रतिशत मात्रै रहेको देखिन्छ, जसले नेपालको व्यापार संरचना अझै आयातमुखी रहेको संकेत गर्दछ।

आयाततर्फ सबैभन्दा बढी डिजेल आयात भएको छ, जसको मूल्य ८२ अर्ब रुपैयाँ पुगेको छ। त्यसपछि भटमासको कच्चा तेल ६६ अर्ब रुपैयाँ, पेट्रोल ४३ अर्ब रुपैयाँ र ग्यास ३७ अर्ब रुपैयाँ बराबर आयात भएको छ।

त्यसैगरी, फागुनसम्ममा २३ अर्ब रुपैयाँ बराबरको सुन र सोही परिमाणमा २३ अर्ब रुपैयाँकै मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।