२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातले पराजय : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

चालिसेले पाँचदेखि तीन हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिए । तीन हजारदेखि पाँच हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरूमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उनले बताए ।

“ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको छ । त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण पराजय व्यहोर्नुपरेको हाम्रो निष्कर्ष छ,” उनले भने । केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको उनको भनाइ छ ।

उनले आठ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको उल्लेख गरे । उनले पार्टीको सदस्यता विस्तार हुँदै जाने तर, मत भने घट्दै जानु चिन्ताजनक भएको बताए ।

उनका अनुसार, कांग्रेसको नवौँ महाधिवेशनमा करिब एक लाख सदस्य रहेका थिए । १४औँ महाधिवेशनसम्म आइपुग्दा त्यो संख्या बढेर आठ लाख ७० हजार पुगेको छ, तर मत भने कांग्रेसले १७ लाख ५९ हजार ल्याएको छ । उनले कांग्रेसको केन्द्रीय समितिको बैठकमा चुनावी प्रदर्शन र आगामी दिनमा मतदाताको विश्वास पुनःआर्जन गर्ने सन्दर्भमा विस्तृत समीक्षा गरिरहेको जानकारी दिए ।

उनले जारी केन्द्रीय समितिको बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामासम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको जानकारी दिए । बैठकले कांग्रेसलाई फेरि सशक्त बनाएर जनतामाझ लैजानेगरी कार्यदिशा तय गर्ने उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।