ललितपुर । फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रियसन नेपालले हाम्रो साइकल यात्रा सम्पन्न गरेको छ ।
क्रियसन नेपालको आयोजनामा बुधबार ललितपुरमा भएको साइकल यात्रा बिहान ७ बजे ललितपुरको शंखमुलबाट सुरु भएर बागमतीको करिडोर हुँदै बल्खु पुलबाट धोवीघाट भएर एकान्तकुना, जावलाखेल पुल्चोक हुँदै कुपण्डोलबाट बागमती करिडोर भएर पुनः शंखमुल पुगेर समापन भएको थियो।
साइकल यात्राको सुभारम्भको अवसरमा धारणा राख्नुहुँदै क्रियसन नेपालका अध्यक्ष अरुणा कार्कीले यो साइकल यात्रा वातवारण तथा पर्यावरण संरक्षण र पृथ्वीको सुरक्षाका लागि निस्वार्थ भावले योगदान पुर्याउने नायकहरुको सम्मानका लागि उत्प्रेरित भएर गरिएको कार्यक्रम भएको बताउनुभयो।
युरोपियन युनियनको सहयोगमा सञ्चालिल ग्रीनसिफ्ट परियोजना अन्तर्गत विश्व पुन:चक्रण दिवस २०२६ को अवसरमा आयोजित यस कार्यक्रममा चार सय भन्दा बढीको सहभागितामा साइकल यात्रा सम्पन्न भएको क्रियसनका महासचिव रोशना सुवेदीले जानकारी दिनुभयो।
फोहोरमैला व्यवस्थापन, पुनःप्रयोग तथा चक्रिय अर्थतन्त्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महासचिव सुवेदीले बताउनुभयो ।
“फोहोर होइन अवसर सोचौं” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा फोहोरलाई समस्या मात्र नभई अवसरका रूपमा हेर्ने सन्देश प्रवाह गरिएको क्रियसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा पुन:चक्रण व्यवसाय, हरित रोजगारी र दिगो विकास प्रवर्द्धनमा जोड दिइएको थियो ।
काठमाडौं उपत्यकाका करिब दुई सय जना फोहोर संकलनकर्ताको सहभागितामा गरिएको साइकल यात्रामार्फत फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको योगदानको सम्मान गर्नुका साथै फोहोर वर्गीकरण, पुनःप्रयोग र जिम्मेवार उपभोगबारे जनचेतना अभिवृद्धि गरिएको थियो।
कार्यक्रमका क्रममा पुनः चक्रण उद्यमी, फोहोर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई सम्मानपत्र वितरण गरिएको थियो। कार्यक्रममा विभिन्न रिसाइक्लिङ सामग्रीहरूको प्रदर्शनी समेत आयोजना गरिएको थियो, जसले सहभागीहरूलाई नवप्रवर्तन र दिगो अभ्यासबारे जानकारी गराएको थियो।
नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ र स्वस्थ वातावरणको अधिकार तथा ठोस फोहोर व्यवस्थापन ऐन २०११, राष्ट्रिय वातावरण नीति २०१९ लगायतका नीतिसँग जोडिएको यस अभियानले फोहोरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने र दिगो उपभोग तथा उत्पादनलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।
युरोपियन युनियनको सहयोगमा ग्रीनसिफ्ट परियोजना अन्तर्गत आयोजित कार्यक्रममा साझेदारका रूपमा रेस्टलेस डेभलपमेन्ट र यूथ इनोभेसन ल्याबको सहभागिता रहेको थियो।—

Comment