नागरिक लगानी कोषले मनायो ३६औँ वार्षिकोत्सव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो स्थापनाको ३६ औँ वार्षिकोत्सव मनाएको छ। कोषले बुधबार बिहान एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो।

कोषद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले पानसमा दीप प्रज्वलन गरी वार्षिकोत्सव उद्घाटन गरेका थिए। कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा कोषमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले सरकारले अघि बढाउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषले लगानी विस्तार गर्नुपर्ने बताएका छन्। उनले सरकारले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने निर्णय गरिसकेको उल्लेख गर्दै उक्त परियोजनामा कोषजस्ता संस्थाले पनि लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले दोहोरो कर हटाउन आवश्यक रहेकोमा जोड दिँदै कर प्रणालीमा समानता र नीतिगत सहजता अपरिहार्य रहेको बताए। आफ्नो कार्यकालमा दोहोरो करको समस्या समाधान हुन नसके पनि आगामी सरकारले यस विषयमा काम गर्ने विश्वास उनले व्यक्त गरे।

अर्थमन्त्री खनालले १५ देखि २० वर्षे अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै त्यस्ता ऋणपत्रले बजारमा रहेको अधिक तरलता न्यूनीकरण गर्न सहयोग पुग्ने बताए। सार्वजनिक–निजी साझेदारीमार्फत नयाँ परियोजना अघि बढाउने, कृषि क्षेत्रमा लगानी विस्तार गर्ने तथा कृषि परियोजनाका लागि भूमिको हदबन्दी हटाउने विषयमा पनि सरकारले काम गर्नुपर्ने उनले बताए।

२०४७ सालमा अन्तरिम सरकारको पालामा स्थापित कोष अहिले ३६ औँ वर्षमा प्रवेश गरेको स्मरण गर्दै उनले कोषको सफलताको निरन्तरताका लागि शुभकामना व्यक्त गरे।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिए पनि मध्यपूर्वमा विकसित परिस्थितिका कारण आपूर्ति प्रणाली प्रभावित हुन सक्ने चिन्ता समेत उनले व्यक्त गरे।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले स्थापना कालदेखि नै निरन्तर नाफामा सञ्चालन हुनु, फरक–फरक योजनाहरू सञ्चालनमा ल्याउनु र हरेक वर्ष सहभागी संख्या बढाउँदै लैजानु कोषको सफलताको आधार रहेको बताए।

उनले मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउन, रोजगारी सिर्जना गर्न तथा कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले हाल सात वटा योजना सञ्चालन गरिरहेको जानकारी दिए। उनले कोषमा उपलब्ध स्रोतलाई पूर्वाधार निर्माण क्षेत्रमा लगानी गर्न तथा भेन्चर क्यापिटलमार्फत लगानी विस्तार गर्न आवश्यक काम अघि बढाइएको बताए। त्यसका लागि ऐन, नियम र कानुन संशोधन प्रक्रिया समेत अघि बढाइएको उनको भनाइ थियो।

कार्यकारी निर्देशक कार्कीले कोषले यान्त्रिकीकरण र अटोमेसनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले ब्याजदरमा आएको गिरावटले कोषको आम्दानी प्रभावित भएको उल्लेख गर्दै उपदान कोष भुक्तानीमा करसम्बन्धी अन्योलता रहेकाले त्यसमा समानता ल्याउनुपर्ने बताए।

सरकारले उपलब्ध गराउँदै आएको सामाजिक भत्ताजस्ता कार्यक्रम नागरिक पेन्सन योजनामार्फत सञ्चालन गर्न सकिने उल्लेख गर्दै उनले त्यसका लागि कर संरचनामा समायोजन आवश्यक पर्ने धारणा राखे।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कोषले लगानीका नयाँ उपकरण तथा नयाँ परियोजनामा ध्यान दिनुपर्ने बताए। उनले बैंकहरूले प्रवाह गरेको कर्जा असुलीमा समस्या देखिएको पनि उल्लेख गरे।

कोषका पूर्वअध्यक्ष डा. महाश्रम शर्माले आर्थिक तथा सामाजिक रूपान्तरणमा नागरिक लगानी कोषले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए।

त्यसैगरी, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेलले कर्मचारीको वृत्ति विकास र सेवा–सुविधा वृद्धि गर्नुपर्ने धारणा राखे। नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापाले आगामी बजेटमा कर सहुलियतको व्यवस्था गर्नुपर्ने तथा करार कर्मचारीलाई सीमित प्रतियोगितामार्फत अवसर दिनुपर्ने माग राखे।

कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा विशेष परिस्थितिमा कोषमा कार्यरत सुरक्षाकर्मीहरूलाई समेत सम्मान गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।