कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै उनले सभापति पदबाट राजीनामा दिएका हुन्।

स्रोतका अनुसार थापाले बुधबार नै आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका छन्। यद्यपि, उनले दिएको राजीनामा पत्र भने हालसम्म सार्वजनिक गरिएको छैन।

कांग्रेसले चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिसकेको छ। सो बैठकअघि नै थापाले राजीनामा दिएका हुन्।

थापा गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका थिए। उक्त महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति समेत चयन गरेको थियो।

तर, विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिट हाल पनि सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ।

विशेष महाधिवेशनलगत्तै कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो। निर्वाचनमा सभापति थापा स्वयं सर्लाही–४ बाट रास्वपाका अमरेश सिंहसँग पराजित भएका थिए।

थापा मात्र होइन, कांग्रेसका धेरै शीर्ष नेताले पनि यसपटक निर्वाचनमा सफलता हासिल गर्न सकेनन्। निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दा कांग्रेस भने कमजोर अवस्थामा सीमित भयो। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट मात्र जित्न सफल भएको थियो।

निर्वाचनपछि कांग्रेस कमजोर प्रतिपक्षमा खुम्चिएसँगै पार्टीभित्र थापा नेतृत्वको आलोचना बढ्दै गएको थियो। विशेषगरी देउवा पक्षका नेताहरूले निर्वाचन परिणामलाई लिएर सभापति थापाको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदै आएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।