काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले देशमा सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्न पार्टी नेतृत्व र सांसदहरू दृढताका साथ लाग्नुपर्ने बताएका छन्।
पार्टीका सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै उनले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहप्रति जनताले व्यक्त गरेको विश्वासलाई व्यवहारमा उतार्नु अहिलेको मुख्य चुनौती भएको उल्लेख गरे। उनले सुशासन र पारदर्शितामार्फत मात्रै नागरिकको अपेक्षा पूरा गर्न सकिने धारणा राखे।
अर्यालले लामो समयदेखि सत्तामा रहेका परम्परागत दलहरूले जनताको हितअनुसार काम गर्न नसकेकै कारण रास्वपालाई जनताले वैकल्पिक शक्तिको रूपमा समर्थन दिएको बताए। “रास्वपा अन्तिम विकल्प भनेर मात्र भोट आएको होइन, जनताले स्पष्ट म्याण्डेट दिएका हुन्,” उनले भने, “त्यो म्याण्डेटले अझ बढी जिम्मेवारी थपेको छ।”
उनका अनुसार निर्वाचनमा प्राप्त उच्च मत प्रतिशतले नागरिकको भरोसा झल्काउँछ, जसलाई कायम राख्न पार्टीले जनहितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेछ। उनले सांसदहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सुशासन, पारदर्शिता र जवाफदेहितामा केन्द्रित हुन आग्रह गरे।

Comment