वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुनसुकै अवस्था आए पनि हर्मुजको जलडमरू खोल्ने बताएका छन्। उनले धेरै देशहरूलाई आफ्ना युद्धपोत पठाउन अपिलसमेत गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखेका छन्, “हामीले पहिले नै इरानको सैन्य शक्ति शतप्रतिशत समाप्त गरिसकेका छौँ। तर उनीहरूलाई एक वा दुई ड्रोन पठाउन, बारुदी सुरुङ खसाल्न वा नजिकबाट मिसाइल प्रहार गर्न सजिलो छ। चाहे उनीहरू जतिसुकै नराम्रोसँग पराजित भए पनि।”
उनले थप लेखेका छन्, “आशा छ, चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अन्य देशहरूले जहाजहरू पठाउनेछन् ताकि पूर्ण रूपमा नष्ट भएको देशबाट हर्मुजको जलडमरूलाई खतरा नहोस्।”
विश्वव्यापी समुद्री तेल व्यापारको लगभग २० प्रतिशत हर्मुजको जलडमरूबाट जान्छ। यद्यपि यो मार्ग हुँदै चल्ने जहाजहरूमाथि आक्रमण भइरहेका छन्। जसले गर्दा विश्वव्यापी रूपमा समस्याहरू निम्त्याइरहेका छन्।
यसैबीच भारत सरकारले शिवालिक र नन्द देवी नामक दुई जहाज एलपीजी बोकेर होर्मुजको जलडमरूबाट आइरहेको उल्लेख गरेको छ।

Comment