काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्क बिना बिमा सुविधा सुरु गरेको घोषणा गरेको छ ।
यो पहलले सुरक्षित शहरी यातायातप्रति कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालित रूपमा समावेश गरिएको छ ।
प्रति राइड अधिकतम रु १० लाख सम्मको बिमा कभरेज युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडद्वारा प्रदान गरिएको छ, जसमा खल्ती सुरक्षाले सहयोग गरेको छ ।
चालकका लागि राइड स्वीकार गरेदेखि नै बीमा लागू हुन्छ भने यात्रुका लागि पिकअपदेखि ड्रप पूरा नभएसम्म कभरेज रहनेछ। साथै, यो सुविधा डेलिभरी अर्डर पूरा गरिरहेका कुरियर पार्टनरहरूमा पनि लागू हुनेछ ।
दुर्घटना भएमा ३० दिनभित्र आवश्यक कागजातहरू (जस्तैः मेडिकल रिपोर्ट, बिल, र सडक दुर्घटनाको हकमा प्रहरी प्रतिवेदन) सहित युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा दाबी पेश गर्न सकिन्छ। सबै कागजात प्रमाणित भएपछि करिब १५ कार्यदिनभित्र भुक्तानी गरिनेछ ।
यो सुविधा याङ्गोका प्रयोगकर्ता, पार्टनर चालक, कुरीयरलाई कुनै अतिरिक्त शुल्क नलिई प्रदान गरिएको हो, जसले सबैलाई आर्थिक भार बिना अतिरिक्त सुरक्षा उपलब्ध गराउँछ ।
नेपालमा तीव्र रूपमा बढिरहेको राइड–हेलिङ बजारमा सुरक्षा र विश्वसनीयता महत्वपूर्ण बन्दै गइरहेको अवस्थामा, यस बीमा कार्यक्रमले याङ्गो राइडलाई नेपालको यातायात क्षेत्रमा विश्वसनीय सेवाप्रदायकको रूपमा अझ सुदृढ बनाएको छ ।

Comment