काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।
बिहीबार काठमाडौं–२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले फेसबुक, टिकटक र रिल्सजस्ता सामग्रीको प्रभावमा नपर्न विशेषगरी युवा पुस्तालाई सचेत गराए। उनले सामाजिक सञ्जालका आकर्षक सामग्रीभन्दा देशको वास्तविक अवस्था र आवश्यकतालाई आधार बनाएर निर्णय लिनुपर्ने बताए।
‘लहैलहैमा फेसबुक हेरेर, टिकटक हेरेर, रिल हेरेर भोट दिएर आफ्नो भविष्य बिगार्ने काम नगर्नुस्,’ उनले भने, ‘यदि तपाईं आफ्नो भविष्य उज्यालो देख्न चाहनुहुन्छ भने तपाईंका पूर्खाले नासोका रूपमा सुम्पिएको स्वाधीन नेपाललाई आउने पुस्तालाई पनि स्वतन्त्र, स्वाधीन र अखण्ड रूपमा हस्तान्तरण गर्ने सोचका साथ यथार्थको धरातलमा उभिएर हलो चिह्नमा मतदान गर्नुस्।’
यस पटकको निर्वाचन केवल एक सांसद चयन गर्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र नभई देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको उनले उल्लेख गरे। वर्तमान अवस्था असामान्य रहेको बताउँदै उनले ‘नेपाल प्रथम, नेपाली प्रथम’ को सोचलाई केन्द्रमा राखेर हरेक मतदाताले गम्भीर रूपमा विचार गर्नुपर्नेमा जोड दिए।
‘यो चुनाव एक थान सांसद चुन्ने मात्र होइन। हामी विशिष्ट परिस्थितिबीच निर्वाचनमा प्रवेश गरेका छौं,’ उनले भने, ‘देशै रहन्छ कि रहँदैन भन्ने चिन्ताको अवस्थामा छौं। त्यसकारण देशलाई केन्द्रमा राखेर हजार पटक सोचेर मात्र आफ्नो अमूल्य मत प्रयोग गर्नुस्।’
अध्यक्ष लिङ्देनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण दिन नसकेका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको बताए।
देशमा शान्ति, विकास र स्थिरताका लागि राप्रपा नै उपयुक्त विकल्प भएको दाबी गर्दै उनले नयाँ र पुराना सबै राजनीतिक शक्तिलाई समन्वय गरेर अघि बढ्न सक्ने क्षमता आफ्नो पार्टीसँग रहेको उल्लेख गरे।

Comment