रवि लामिछानेको ‘ठाउँको ठाउँ रोक्नुपर्छ’ अभिव्यक्तिमा विवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फेरि एकपटक विवादको केन्द्रमा परेका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा पार्टीका उम्मेदवार अमरेशकुमार सिंहको पक्षमा प्रचार गर्न पुगेका उनले दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापा प्रति लक्षित गर्दै “ठाउँको ठाउँ रोक्नुपर्छ” भन्ने अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, “यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेशको मान्छेले जित्थ्यो, मधेशले जित्थ्यो। तर, कोही काठमाडौंबाट यहाँ आएर मधेशको बेटा हुँ भन्दै ठाउँ लिने प्रयास भएको छ, यसपटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको हो।”

उनको यो भनाइलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। आलोचकहरूले लामिछानेले चुनावी प्रचारमा क्षेत्रीय भावना भड्काउने शैली अपनाएको आरोप लगाएका छन्। कतिपयले राष्ट्रिय राजनीतिमा स्थापित हुन खोज्ने नेताले भौगोलिक पहिचानका आधारमा मत माग्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन्।

निर्वाचन आयोगले रुफटप गाडी प्रयोग नगर्न निर्देशन दिँदादिँदै पनि सोही शैलीमा प्रचारमा उत्रिएको विषयसमेत विवादको कारण बनेको छ। आयोगको निर्देशनप्रति अटेरी देखिएको भन्दै उनको आलोचना भइरहेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ता सन्तोष पौडेलले “तपाईँचाहिँ कहाँको?” भन्दै प्रश्न उठाएका छन्। लामिछानेको विगतमा अमेरिकी नागरिकता लिएको प्रसंग र चितवनबाट चुनाव लडेको विषय स्मरण गराउँदै दोहोरो मापदण्ड अपनाएको आरोप लगाइएको छ। डम्बर बोहोराले झापा–५ मा रास्वपाकै वरिष्ठ नेता बालेन्द्र साह उम्मेदवार रहेको सन्दर्भ उठाउँदै “त्यसै तर्क त्यहाँ किन लागू हुँदैन?” भन्ने प्रश्न गरेका छन्।

प्रबिन खतिवडाले भने लामिछाने राजनीतिक एजेण्डामा प्रतिस्पर्धा गर्न नसकेर व्यक्ति केन्द्रित टिप्पणीमा उत्रिएको आरोप लगाएका छन्। “एजेण्डामा बहस गर्न नसक्नेले व्यक्तिमाथि प्रहार गर्छ,” उनले लेखेका छन्।

यस प्रकरणले लामिछानेको राजनीतिक शैली र भाषामाथि पुनः प्रश्न उठाएको छ। चुनाव नजिकिँदै गर्दा विवादास्पद अभिव्यक्तिले उनको छविमा नकारात्मक असर पार्ने विश्लेषण भइरहेको छ। पार्टीको औपचारिक धारणा भने हालसम्म सार्वजनिक भएको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।