काठमाडौं । पर्यटकीय राजधानी पोखरामा दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले आगामी चैत ११ देखि १५ गतेसम्म यो प्रदर्शनी आयोजना गर्न लागेको हो।
पोखराको लेकसाइडस्थित तालबाराही चोकको खेल मैदानमा आयोजना हुने यस मेलाले सवारी साधनका पारखीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
पहिलो संस्करणको अपार सफलतापछि आयोजना हुन लागेको यस शोमा सवारी साधनको खरिद–बिक्रीका साथै अटो क्षेत्रमा भइरहेका आधुनिक प्रविधिको विकासलाई मुख्य आकर्षण बनाइनेछ। सवारी धनी, सम्भावित ग्राहक र आम सर्वसाधारणको रुचिलाई ध्यानमा राख्दै यो प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।
प्रदर्शनीका लागि आज फागुन १२ गतेदेखि १९ गतेसम्म स्टल बुकिङ खुल्ला गरिएको छ। आयोजकले साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर र अटो क्षेत्रसँग सम्बन्धित सबै व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आह्वान गरेको छ। यसले व्यवसायीहरूलाई आफ्नो उत्पादन र सेवाको प्रचार–प्रसार गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।
यस मेलाको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रालिले गर्नेछ। स्टल बुकिङका लागि इच्छुक कम्पनी वा संस्थाहरूले इमेल ([email protected]) वा ९८०१५४१५३८ मा सम्पर्क गरी थप जानकारी लिन सक्ने बताइएको छ।

Comment