नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नुवाकोट क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र बनेको छ । यसपटकको निर्वाचन केवल सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई जिल्लाको दीर्घकालीन विकासको खाका र भिजनको परीक्षणका रूपमा समेत हेरिएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री प्रकाशशरण महत ले ‘समृद्ध नुवाकोट निर्माण अभियान’ नामक प्रतिज्ञापत्र सार्वजनिक गर्दै जिल्लालाई काठमाडौँको उत्तर–पश्चिमी भेगमा विकसित हुने अत्याधुनिक ‘स्याटेलाइट सिटी’ मा रूपान्तरण गर्ने दीर्घकालीन योजना अघि सारेका छन् ।
सुरुङमार्गदेखि स्याटेलाइट सिटीसम्म
डा. महतले आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेको ‘छहरे–टोखा सुरुङमार्ग’ आयोजना अहिले चुनावी बहसको केन्द्र बनेको छ । सुरुआतमा चिनियाँ ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ अन्तर्गत प्रस्तावित उक्त आयोजना वैदेशिक ऋणको जोखिमसँग जोडिएपछि अन्योलमा परेको थियो । तर डा. महतले सुरुङको लम्बाइ करिब ७ किलोमिटरबाट घटाएर ४ किलोमिटरमा सीमित गर्ने ‘रिडिजाइन’ प्रस्ताव अघि सार्दै आन्तरिक स्रोतबाटै निर्माण सम्भव हुने दाबी गरेका छन् ।
उनका अनुसार यो सुरुङमार्ग केवल सडक पूर्वाधार मात्र नभई थानसिङ, लिखु, तादी र त्रिशूली बेसिन क्षेत्रलाई राजधानीसँग जोडेर नयाँ आर्थिक केन्द्रका रूपमा विकास गर्ने आधार बन्नेछ । विगतमा अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको बाहिरी जिल्लासँगको सम्पर्क विच्छेद हुँदा छहरे–टोखा मार्ग एक मात्र विकल्प बनेको प्रसंग उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय रणनीतिक मार्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
पूर्वाधारमा निरन्तरता र विस्तार
डा. महतले आफ्नो विगतको कार्यकाल स्मरण गर्दै ऊर्जा मन्त्री हुँदा नुवाकोटसहित विभिन्न जिल्लामा ‘पूर्ण विद्युतीकरण’ अभियान सञ्चालन गरेको र अर्थमन्त्रीका रूपमा आर्थिक संकटको अवस्थाबाट मुलुकलाई ‘सुरक्षित अवतरण’ गराएको दाबी गरेका छन् ।
एक दशकअघि अलपत्र परेको पासाङ ल्हामु राजमार्ग लाई आन्तरिक स्रोतबाट बजेट सुनिश्चित गरी कालोपत्रे चरणमा पुर्याइएको प्रसंग उनले आफ्नो विकास प्रतिवद्धताको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
त्यस्तै, मध्यपहाडी लोकमार्गको एलाइनमेन्ट काठमाडौँबाट नुवाकोटतर्फ मोड्न पहल गरिएको उल्लेख गर्दै उनले सामरी, विदुर र लिखु क्षेत्रलाई राष्ट्रिय आर्थिक मूलधारसँग जोडिएको बताएका छन् ।
वैकल्पिक राजमार्ग र कृषि–पर्यटन प्राथमिकता
निर्माणाधीन बालाजु–रानीपौवा–पिपलटार तथा तिनपिप्ले–गल्छी वैकल्पिक राजमार्गलाई पूर्णता दिने प्रतिबद्धता जनाउँदै डा. महतले नुवाकोटलाई राजधानीसँग जोड्ने बहुविकल्पीय सडक सञ्जाल निर्माण गर्ने लक्ष्य राखेका छन् ।
कृषि क्षेत्रमा लिखु र तादी नदीको कटान नियन्त्रण, सिँचाइ विस्तार तथा उर्वर भूमि संरक्षण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । साथै सिसडोल–बञ्चरेडाँडा क्षेत्रको वातावरणीय प्रभाव न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
पर्यटन प्रवर्द्धनतर्फ धार्मिक तथा साहसिक पर्यटनलाई जोड दिँदै दुप्चेश्वर र कपिलेश्वर महादेव जस्ता तीर्थस्थललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरिएको छ । ककनीदेखि गोल्फुभञ्ज्याङसम्म पर्यटकीय सर्किट विकास गरी बाह्य लगानी भित्र्याउने लक्ष्यसमेत प्रतिज्ञापत्रमा समेटिएको छ ।
विकासको बहस र जनादेश
डा. महतको प्रतिज्ञापत्रले नुवाकोटलाई दीर्घकालीन आर्थिक, भौतिक तथा पर्यटकीय विकासको नमुनाका रूपमा स्थापित गर्ने लक्ष्य प्रस्तुत गरेको छ ।
फागुन २१ को जनादेशले यस भिजनलाई कार्यान्वयनको अवसर दिने वा नदिने भन्ने निर्णय मतदाताको हातमा छ । तर हालका लागि भने नुवाकोट क्षेत्र नम्बर १ मा विकास, पूर्वाधार र रणनीतिक मार्ग निर्माणको बहस केन्द्रमा ल्याउन डा. महत सफल देखिएका छन् ।

Comment