काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कति समय बाँच्ने कुरा आफैंलाई थाहा नभएको बताएका छन्। सोमबार ह्वाइट हाउसको प्रेस ब्रिफिङमा उनले भने, ‘म कति समय बाँच्छु थाहा छैन किनकि धेरै मानिसहरूले मलाई गोली हान्न खोजिरहेका छन्।’
यो बयानलाई दुई दिनअघि उनकै फ्लोरिडास्थित मार-ए-लागो रिसोर्टमा भएको गोलीकाण्डसँग जोडेर हेरिएको छ। आइतबार बिहान स्थानीय समयअनुसार करिब १:३० बजे २१ वर्षीय युवकले शटगन र इन्धनको क्यान बोकेर रिसोर्टको सुरक्षित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए। गोप्य सेवा (सिक्रेट सर्भिस) का एजेन्टले उनलाई रोकेका थिए।
सुरक्षाकर्मीहरूले उनलाई हतियार र क्यान छोड्न पटक-पटक आदेश दिए। युवकले इन्धनको क्यान तल राखे तर शटगनलाई फायरिङ पोजिसनमा उठाएपछि एजेन्टहरूले गोली चलाए। उनको घटनास्थलमै मृत्यु भयो।
मृतक उत्तरी क्यारोलिनाको क्यामरनका अस्टिन टकर मार्टिन थिए। उनको परिवारले केही दिनअघि नै हराएको भन्दै उजुरी दर्ता गरेको थियो। अनुसन्धानमा उनी दक्षिणतिर यात्रा गर्दै थिए भन्ने खुलेको छ। जानकारी अनुसार उनले बाटोमा शटगन किनेका थिए। युवकको कारमा हतियारको खोल पनि फेला परेको थियो। उनका आफन्तहरूका अनुसार उनी राजनीति वा हतियारप्रति खास रुचि राख्दैनथे, परिवार पनि ट्रम्प समर्थक हो।
गोलीकाण्ड हुँदा ट्रम्प वाशिंगटन डीसीको ह्वाइट हाउसमा थिए। उनी सामान्यतया सप्ताहन्त मार-ए-लागोमै बिताउने गर्छन्। गोप्य सेवाका अधिकारीहरूले पत्रकारहरूलाई बताएअनुसार युवकले रिसोर्टको उत्तरी गेट नजिकैबाट कर्मचारीको कार निस्किरहेको मौका छोपेर भित्र पस्ने कोसिस गरेका थिए।
यो घटनाले ट्रम्पमाथि जुलाई १३, २०२४ मा पेन्सिल्भेनियाको चुनावी र्यालीमा भएको आक्रमणको सम्झना गराउँछ। त्यसबेला २० वर्षीय आक्रमणकारीले करिब ४०० फिट टाढाबाट राइफल प्रहार गरेको थियो। गोली ट्रम्पको कान छोएर गएको थियो। गोप्य सेवाका स्नाइपरहरूले तुरुन्तै आक्रमणकारीलाई मारिदिएका थिए। त्यो घटना राष्ट्रपति चुनावको चार महिनाअघि भएको थियो।
अब ट्रम्पको सुरक्षा अझ कडा बनाइएको छ। गोप्य सेवा (सिक्रेट सर्भिस) ले राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति, प्रमुख उम्मेदवार र विदेशी प्रमुखहरूको सुरक्षा गर्छ। यो संस्था सन् १८६५ मा नक्कली नोट रोक्ने कामका लागि स्थापना भएको थियो। सन् १९०१ मा पूर्व राष्ट्रपति विलियम म्याककिन्लीको हत्यापछि यसलाई राष्ट्रपति सुरक्षाको जिम्मेवारी दिइएको थियो।
मार-ए-लागो क्लबको सदस्यता निकै महँगो र कडा छ। हालको प्रवेश शुल्क करिब १० लाख अमेरिकी डलरसम्म पुगेको छ। पैसा भए पनि सबैलाई सदस्यता दिइँदैन। बैंक खाता, सामाजिक स्थिति, पारिवारिक पृष्ठभूमि लगायतको गहन जाँच हुन्छ। धेरै धनी व्यक्तिहरूले आवेदन दिन्छन् तर थोरैले मात्र पास गर्छन्। एजेन्सी

Comment