काठमाडौँ। आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत आज भएको सुपर ८ को खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो।
जिम्बाब्बेका लागि ब्राड इभान्सले ४३, डियोन मायर्सले २८, कप्तान सिकन्दर राजाले २७ तथा तदिवानाशे मारुमानी र टोनी मुनयोंगाले १४-१४ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
वेस्ट इन्डिजका गुडाकेश मोतीले चार विकेट लिँदा अकिल होसेनले तीन, म्याथ्यू फोर्डले दुई तथा जेसन होल्डरले एक विकेट लिए।
वेस्ट इन्डिजका लागि हेटमायरले ३४ बलमा ८५ रनको आक्रामक पारी खेले । यसक्रममा उनले ७ चौका र ७ छक्का प्रहार गरे। पावेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । शेरफन रदरफोर्ड १३ बलमा ३१ रन बनाएर नटआउट रहे।
जिम्बाबेका लागि रिचार्ड एङ्गर्भा र ब्लेसिङ मुजराबानीले २-२ विकेट लिए भने ब्राड्ली इभान्स र ग्रेम क्रेमरले १-१ विकेट लिए।

Comment