खिइँदो रास्वपा, सुस्ताका सचिवले पनि पार्टी छाडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने क्रम पश्चिम नवलपरासीमा बढ्दै गएको छ।

सोमबार सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले रास्वपा परित्याग गरेको घोषणा गरेका छन्। पार्टीको भनाइ र गराइमा एकरुपता नभएको तथा पार्टी अवसरवादीको चङ्गुलमा परेको आरोप लगाउँदै उनले पार्टी छाड्ने निर्णय गरेको बताएका हुन्।

पन्थले रास्वपाप्रति सुरुमा देखिएको आशा क्रमशः क्षीण हुँदै गएको उल्लेख गर्दै इमान्दार नेता–कार्यकर्तालाई पाखा लगाउने र अवसरवादीलाई प्राथमिकता दिने प्रवृत्ति बढेको आरोप लगाए। अब आफू कुनै पनि राजनीतिक दलमा प्रवेश नगरी स्वतन्त्र रूपमा बस्ने उनले स्पष्ट पारे।

यसअघि नै सुस्ताकै रास्वपा उपसभापति गुप्त सेन ठकुरीले पनि पार्टी छाडेको घोषणा गरेका थिए। उनले समेत पार्टीको नीति, व्यवहार र कार्यशैलीमा स्पष्टता नदेखिएको तथा देशलाई निकास दिनसक्ने ठोस दृष्टिकोण अभाव रहेको भन्दै असन्तुष्टि जनाएका थिए।

यस क्षेत्रमा कांग्रेसका नेता बिक्रम खनाललाई रास्वपामा भित्र्याएर टिकट दिएपछि स्थानीय कार्यकर्ता असन्तुष्ट बनेको बताइएको छ। पछिल्ला घटनाक्रमले पश्चिम नवलपरासीमा रास्वपाको संगठनात्मक अवस्था र आन्तरिक एकतामाथि प्रश्न उठाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।