निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य नगर्न काउन्सिलको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ।

काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै त्यो भूमिकालाई थप निष्ठापूर्वक निर्वाह गर्न आग्रह गरे।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगत्को पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न र आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न पनि काउन्सिलको आग्रह छ।’

यस्तै, स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न, नगराउन काउन्सिलले आमसञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सबैलाई अनुरोध गरेको छ।

काउन्सिलले आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको र विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा विशेष अनुगमन गरिरहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रताका नाममा प्रेषित सामग्रीले कसैलाई लाभहानी पुग्न सक्दछ। तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्त्वपूर्ण पेसामा आबद्ध सञ्चारमाध्यम तथा पत्रकारहरू यस महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनैपर्दछ। यस कार्यको हामीले अनुगमन गरिरहेका छौँ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।