बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले सोमबार आफ्नो चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरेका छन्। ‘थिति बसाल्ने संकल्प’ नारासहित सार्वजनिक गरिएको उक्त वाचापत्रमा उनले ९ वटा मुख्य प्रतिबद्धता प्रस्तुत गर्दै विशेषगरी झापा–५ मा रहेको सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्यालाई प्राथमिकतामा राखेका छन्। उनले रास्वपा नेतृत्वमा सरकार गठन भएको १०० दिनभित्र अधिकारसम्पन्न आयोग गठन गर्ने र १००० दिनभित्र भूमि सम्बन्धी समस्याको न्यायोचित तथा दिगो समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन्। साथै बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्न र चक्लाबन्दी प्रवर्द्धनका लागि ‘ल्यान्ड बैंक’को व्यवस्था गर्ने, ऐलानी तथा नक्सांकन नभएका जग्गाहरूको नापी, नक्सा र अभिलेखीकरण कार्य सम्पन्न गर्ने योजना पनि अघि सारेका छन्।

उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र २०८२’ कार्यान्वयनको नेतृत्व गर्ने उल्लेख गर्दै संविधानले सुनिश्चित गरेका आधारभूत आवश्यकता—गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण—हरेक नागरिकको पहुँचमा पुर्‍याउन आवश्यक कानुन तथा बजेट व्यवस्था गर्ने बताएका छन्। यसका साथै राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्ने, सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त र झन्झटरहित बनाउने, विकास र प्रकृति संरक्षणलाई सँगसँगै अघि बढाउने, झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारका विषय सम्बोधन गर्ने, राजनीतिलाई पेसा नभई सेवाका रूपमा स्थापित गर्ने तथा जनताको मतलाई परिणाममुखी काममा रूपान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। चुनावी अभियानका क्रममा उनले इमानदारिता, पारदर्शिता र परिणाममुखी राजनीतिमार्फत मतदाताको विश्वासलाई कामद्वारा प्रमाणित गर्ने संकल्प दोहोर्‍याएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।