काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको अर्धवार्षिक व्यवसायिक समीक्षा, कार्यसम्पादन मूल्याङ्कन, उत्कृष्ट कर्मचारी सम्मान तथा आगामी रणनीति सम्बन्धी छलफलका लागि ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न गरेको छ।
पोखरा–चितवनस्थित एक होटेलमा आयोजित कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर तथा उत्कृष्ट शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले स्पष्ट लक्ष्य निर्धारण, प्रभावकारी रणनीति निर्माण तथा अनुशासित कार्यान्वयनमार्फत कम्पनीलाई सफलताको शिखरतर्फ अग्रसर गराउन सकिने बताए ।
चुनौतीपूर्ण आर्थिक अवस्था तथा मर्जरपछिको परिवेशका बाबजुद एकता, सामञ्जस्यता र प्रतिबद्धतासहित कार्य गर्दा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।
उत्कृष्ट कार्यसम्पादनको कदर र स्वच्छ प्रतिस्पर्धाको संस्कृतिले कर्मचारीको मनोबल उच्च बनाउँदै संस्थालाई थप सुदृढ बनाउने धारणा पनि उनले राखे ।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीको तथ्याङ्क तथा प्रगति विवरण प्रस्तुत गर्दै कार्यसम्पादन वर्षेनि सुधारोन्मुख रहेको जानकारी दिए । उनले हालको लगानीमैत्री वातावरण चुनौतीपूर्ण भए पनि कम्पनीले ३७.८०८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको उल्लेख गरे ।
संस्थागत सफलता सामूहिक सहकार्य र समन्वयमा निर्भर रहने भन्दै टिमभावना सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।
अर्धवार्षिक समीक्षा अवधिसम्म विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा तथा उपशाखा प्रमुखहरूलाई कार्यक्रममा सम्मानित गरिएको थियो।
नायव प्रमुख कार्यकारी अधिकृतले उपलब्ध स्रोत, साधन, ज्ञान र सीपको प्रभावकारी प्रयोग गर्दै उत्कृष्ट ग्राहक सेवामार्फत ग्राहक सङ्ख्या विस्तार गर्ने लक्ष्य रहेको बताए ।
कम्पनीले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता र ग्राहक सम्पर्क प्रणाली सुदृढीकरणमार्फत आफूलाई अग्रणी जीवन बिमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ। हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २० अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन्।

Comment