यी हुन् नेपालले गत वर्ष आयात–निर्यात गरेका प्रमुख १० वस्तु (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ) मा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, त्यसमा पनि डिजेल आयात गरेको छ । निर्याततर्फ भने जनावर वा वनस्पतिजन्य बोसो तथा तेल सबैभन्दा ठूलो वस्तु बनेको छ ।

भन्सार विभाग को पछिल्लो तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । माघ मसान्तसम्म कुल ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

आयात सूचीमा यस वर्ष पनि खनिज इन्धन, तेल तथा पेट्रोलियम पदार्थ पहिलो स्थानमा रहेको छ । सात महिनामा १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यसबाट सरकारले ७१ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

दोस्रो स्थानमा जनावर तथा वनस्पतिजन्य बोसो र तेल (खाद्य तेलको कच्चा पदार्थ) रहेको छ, जसको आयात ९३ अर्ब ७५ करोड रुपैयाँको भएको छ । फलाम र स्टील ७७ अर्ब ८५ करोड, विद्युतीय मेसिनरी तथा उपकरण ७७ अर्ब ६९ करोड र मेसिनरी तथा मेकानिकल उपकरण ७७ अर्ब ५३ करोड रुपैयाँ बराबर आयात भएको देखिन्छ ।

सवारी साधन तथा यसका पार्टपुर्जाहरू ६४ अर्ब ८४ करोड रुपैयाँ बराबर आयात हुँदा राज्यले ५१ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठाएको छ, जुन आयातित वस्तुमध्ये सबैभन्दा बढी राजस्व प्राप्त हुने क्षेत्र हो ।

निर्याततर्फ कुल १ खर्ब ६८ अर्ब रुपैयाँमध्ये जनावर वा वनस्पतिजन्य बोसो र तेलको हिस्सा मात्रै ७८ अर्ब १९ करोड रुपैयाँ रहेको छ । कफी, चिया तथा मसला १२ अर्ब २६ करोड, गलैंचा ६ अर्ब ६४ करोड, तयारी पोशाक (नबुनेको) ५ अर्ब १४ करोड, काठ तथा काठजन्य सामग्री ४ अर्ब ९० करोड र खाद्य उद्योगका अवशेष तथा पशु आहार ४ अर्ब ८० करोड रुपैयाँ बराबर निर्यात भएको छ ।

यसैगरी तरकारी, फलफूल वा बिरुवाका परिकार ४ अर्ब १६ करोड, कपास तथा विशेष धागो ३ अर्ब ३९ करोड, तयारी पोशाक (बुनेका) २ अर्ब ५५ करोड र अन्न, पीठो वा दूधका परिकार २ अर्ब ४० करोड रुपैयाँ बराबर निर्यात भएको छ ।

समग्रमा हेर्दा आयात उच्च र निर्यात सीमित वस्तुमा केन्द्रित रहँदा नेपालको वैदेशिक व्यापार संरचना अझै असन्तुलित देखिएको छ । व्यापार घाटा उच्च रहे पनि केही प्रशोधित वस्तुको निर्यात बढ्दै जानु सकारात्मक संकेतका रूपमा लिइएको छ ।

शीर्ष १० आयात
१. खनिज इन्धन, तेल र पेट्रोलियम पदार्थ – १८०.७४ अर्ब रूपैयाँ
२. जनावर वा वनस्पतिजन्य बोसो र तेल – ९३.७५ अर्ब रूपैयाँ
३. फलाम र स्टील – ७७.८५ अर्ब रूपैयाँ
४. विद्युतीय मेसिनरी र उपकरणहरू – ७७.६९ अर्ब रूपैयाँ
५. मेसिनरी र मेकानिकल उपकरणहरू – ७७.५३ अर्ब रूपैयाँ
६. सवारी साधन र यसका पार्टपुर्जाहरू – ६४.८४ अर्ब रूपैयाँ
७. सुनचाँदी, बहुमूल्य पत्थर र धातुहरू – ४७.७९ अर्ब रूपैयाँ
८. मलखाद – ४२.६३ अर्ब रूपैयाँ
९. प्लास्टिक र यसका सामग्रीहरू – ३९.०८ अर्ब रूपैयाँ
१०. खाद्यान्न / अन्न – ३५.६२ अर्ब रूपैयाँ

शीर्ष १० निर्यात
१. जनावर वा वनस्पतिजन्य बोसो र तेल – ७८.१९ अर्ब रूपैयाँ
२. कफी, चिया र मसला – १२.२६ अर्ब रूपैयाँ
३. गलैंचा र भुइँमा ओछ्याउने सामग्री – ६.६४ अर्ब रूपैयाँ
४. तयारी पोशा (नबुनेको) – ५.१४ अर्ब रूपैयाँ
५. काठ र काठका सामग्री – ४.९० अर्ब रूपैयाँ
६. खाद्य उद्योगका अवशेष र पशु आहार – ४.८० अर्ब रूपैयाँ
७. तरकारी, फलफूल वा बिरुवाका परिकार – ४.१६ अर्ब रूपैयाँ
८. कपास, फेल्ट र विशेष धागोहरू – ३.३९ अर्ब रूपैयाँ
९. तयारी पोशाक (बुनेका) – २.५५ अर्ब रूपैयाँ
१०. अन्न, पीठो वा दूधका परिकार – २.४० अर्ब रूपैयाँ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।