काठमाडौं । आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा नेपालले स्कटल्याण्डमाथि ७ विकेटको सानदार जित दर्ता गर्दै इतिहास रचेको छ।
विश्वकपको मञ्चमा नेपालले १२ वर्षपछि पहिलो जित हात पारेको हो। यसअघि नेपालले सन् २०१४ को विश्वकपमा अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो।
स्कटल्याण्डले दिएको १७१ रनको चुनौतीपूर्ण लक्ष्यलाई नेपालले ४ बल बाँकी रहँदै मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा फिनिसर दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै मात्र २३ बलमा अविजित ५० रनको योगदान दिए। उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए।
त्यस्तै, अलराउन्डर गुलशन झाले १७ बलमा १ चौका र २ छक्कासहित अविजित २४ रन बनाएर दीपेन्द्रलाई उत्कृष्ट साथ दिए। यी दुईबीच चौथो विकेटका लागि २७ बलमा ५० रनको अविजित साझेदारी भएको थियो।
यसअघि, नेपाललाई ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेखले सानदार सुरुवात दिलाएका थिए। भुर्तेलले ३५ बलमा ४३ रन र आसिफ शेखले २७ बलमा ३३ रन बनाएर पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे।
कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए पनि मध्यक्रममा दीपेन्द्र र गुलशनले इनिङ्स सम्हाल्दै नेपाललाई जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको योगफल तयार पारेको थियो।
स्कटल्याण्डका लागि माइकल जोन्सले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए। जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलनले २५ रनको योगदान दिए।
बलिङतर्फ नेपालका तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।
यससँगै सोमपाल नेपालका लागि पुरुष टी-२० विश्वकपमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन्। उनले विश्वकपमा आफ्नो विकेट संख्या १० पुर्याउँदै दीपेन्द्र सिंह ऐरीलाई उछिनेका हुन्।
त्यस्तै, डेब्युटेन्ट नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए भने कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट हात पारे।

Comment