काठमाडौं । छायांकनको तयारीमा रहेको नेपाली फिल्म ‘जिरो डिग्री’ को व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गरिएको छ। समसामयिक राजनीति र नेताहरूको प्रवृत्तिमाथि तिखो प्रहार गरिएको उक्त गीतले सार्वजनिक भएलगत्तै चर्चा बटुल्न थालेको छ।
सार्वजनिक गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारी को स्वर रहेको छ। गीतको सङ्गीत अङ्कित बाबु अधिकारीकै रहेको छ भने शब्द युवराज काफ्ले ले लेखेका हुन्।
गीतको भिडिओमा विजय बराललाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। आम नागरिकले विकास निर्माणबारे प्रश्न गर्दा नेताले दिने टालटुले जवाफ र ‘यही हो विकास’ भन्दै देखाउने प्रवृत्तिलाई व्यङ्ग्यात्मक शैलीमा चित्रण गरिएको छ।
मेघौली फिल्म्स को ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’को कथावस्तु मौलिक रहेको निर्माण टिमले जनाएको छ। सडक सञ्जालले नछोएको दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने घटनाक्रम र त्यसले निम्त्याउने सामाजिक उथलपुथललाई ‘डार्क कमेडी’ शैलीमा प्रस्तुत गरिने बताइएको छ।
निर्देशकका अनुसार फिल्म केवल फ्रिज गाउँ पुर्याउने कथामा सीमित नभई समाजका गहिरा यथार्थ उजागर गर्ने प्रयास हुनेछ। फिल्मको निर्देशन, पटकथा तथा संवाद आकास बराल र साजन काफ्ले ले गर्दै छन्। कथाकार राजन भुसाल ले अभिनयसमेत गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन्।

Comment