पाकिस्तानमाथि भारतको सानदार जित, ६१ रनले हराउँदै ‘सुपर ८’ मा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई ६१ रनको विशाल अन्तरले पराजित गरेको छ।

आइतबार राति सम्पन्न खेलमा सानदार जित निकाल्दै भारत प्रतियोगिताको ‘सुपर ८’ चरणमा प्रवेश गर्ने पहिलो टोलीहरूमध्ये एक बनेको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको बलियो योगफल तयार पारेको थियो।

भारतका लागि ओपनर इशान किशनले विष्फोटक ब्याटिङ गर्दै मात्र ४० बलमा ७७ रनको योगदान दिए। उनको पारीमा १० चौका र ३ छक्का समावेश थियो। यस्तै, कप्तान सूर्यकुमार यादवले २९ बलमा ३२ रन र शिवम् दुबेले १७ बलमा २७ रन जोडे। पाकिस्तानका तर्फबाट सइम अयुबले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका थिए।

१७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान भारतीय बलरहरूको घातक बलिङसामु निरिह देखियो। पाकिस्तान १८ ओभरमा मात्र ११४ रनमा समेटिन पुग्यो।

पाकिस्तानका लागि उस्मान खानले ३४ बलमा ४४ रन र अन्त्यतिर शाहिन शाह अफ्रिदीले १९ बलमा अविजित २३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

साहिबजादा फरहान, कप्तान सलमान अली आगा र बाबर आजम जस्ता मुख्य ब्याटरहरू सस्तैमा समेटिएपछि पाकिस्तान दबाबमा परेको थियो।

भारतलाई जित दिलाउन बलरहरूले सामूहिक प्रदर्शन गरे। हार्दिक पाण्ड्याले ३ ओभरमा १६ रन, जसप्रित बुमराहले २ ओभरमा १७ रन, वरुण चक्रवर्तीले ३ ओभरमा १७ रन र अक्षर पटेलले ४ ओभरमा २९ रनले समान २–२ विकेट लिए।

यस्तै, कुलदीप यादव र तिलक वर्माको नाममा १–१ विकेट रह्यो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।