काठमाडौं । आईसीसी टी – २० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ ।
नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।
नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ । नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था भने छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
खेलअघि शनिबार भएको प्रि – म्याच प्रेस कन्फेरेन्समा नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिज धेरै राम्रो टिम भएको र धेरै राम्रो खेल प्रदर्शन गर्नुपर्ने बताएका छन् ।
‘अब बाँकी दुई खेल जित्नेबारेमा नै सोच्नुपर्छ, नत्र त झोला प्याक गरेर घर फर्किनेबाहेक विकल्प छैन’ प्रशिक्षक लले भनेका थिए ।
प्रशिक्षक लले सुरुवाती दुई खेलमा फरक किसिमको हार बेहोरेको भन्दै त्यसबीचको ग्याप पत्ता लगाउनुपर्ने बताएका थिए ।
साथै उनले सामाजिक सञ्जाल प्रयोगको विषयलाई लिएर पनि कडा टिप्पणी गरेपछि अहिले त्यस विषयमा पनि गम्भीर रूपले चर्चा भइरहेको छ ।
वेस्ट इन्डिजका बलर अकिल होसेनले नेपाली टिमको क्षमताबारे जानकार रहेको र यो खेललाई विश्वकपको अर्को एक खेलको रूपमा नै लिने बताए ।
‘नेपालको क्षमता के हो र नेपालले के गर्न सक्छ भन्ने बारे हामी राम्रोसँग जानकार छौं,’ गत सेप्टेम्बरमा शारजाहमा भएको टी – २० अन्तर्राष्ट्रिय सिरिज र अहिले टी-२० विश्वकप खेलिरहेको नेपाली टिमबीचको फरकबारे सोधिएको प्रश्नमा होसेनले भनेका छन् ।

Comment