महाशिवरात्रि मेला तयारी अन्तिम चरणमा, ८ लाख भक्तजन आउने अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुन ३ गते मनाइने हिन्दुहरूको महान् पर्व महाशिवरात्रि मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले मेला व्यवस्थापनका लागि ९ वटा उपसमिति गठन गरी आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए। यस वर्ष करिब ८ लाख भक्तजन र ४ हजार साधुसन्त आउने अनुमान गरिएको छ। भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउन पाँच स्थानमा अस्थायी आकाशे पुल निर्माण गरिएको छ भने बिहान २ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिने व्यवस्था मिलाइएको छ।

विगतमा शिवरात्रिका अवसरमा साधुसन्तमार्फत गाँजा, भाङ तथा मदिरा जस्ता लागू पदार्थको बिक्रीवितरण हुने गरेको अवस्थालाई ध्यानमा राख्दै यस वर्ष यस्ता गतिविधिमा कडाइ गरिने कोषले जनाएको छ। पशुपति क्षेत्र मासु, मदिरा तथा लागू पदार्थ निषेधित क्षेत्र भएकाले प्रहरीको सहकार्यमा स्थलगत रूपमा प्रभावकारी निगरानी र नियन्त्रणको व्यवस्था मिलाइएको कार्यकारी निर्देशक जोशीले बताए। मेला व्यवस्थापनका लागि १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने साधुसन्तको व्यवस्थापन र दक्षिणाका लागि थप २० लाख रुपैयाँ छुट्याइएको छ।

दर्शनलाई व्यवस्थित बनाउन विभिन्न क्षेत्रबाट आउने भक्तजनका लागि छुट्टाछुट्टै प्रवेश तथा निर्गमन मार्ग निर्धारण गरिएको छ। बत्तिसपुतली, मैतीदेवी र पुरानो बानेश्वर क्षेत्रबाट आउनेहरू गौशाला–पिंगलास्थान हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्नेछन् भने भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, विमानस्थल र तिलगंगा क्षेत्रबाट आउनेहरू तिलगंगा काउन्टर हुँदै पूर्वी ढोकाबाट प्रवेश गर्ने व्यवस्था छ। त्यसैगरी जोरपाटी, कपन, महांकाल र चावहिल क्षेत्रबाट आउनेहरू उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूल ढोकाबाट फर्कनेछन् भने रातोपुल, कालोपुल र सिफल क्षेत्रबाट आउनेहरू भूवनेश्वरीको सानो ढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा मन्दिर प्रांगण बाहेक अन्य स्थान अवलोकन तथा भ्रमण गर्न दिइनेछ।

सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी ८ हजार सुरक्षाकर्मी परिचालन गरिने छन् भने २६ वटा संस्थामार्फत २ हजार स्वयंसेवक खटाइनेछन्। स्वयंसेवकहरूलाई मन्दिरको कोर क्षेत्र बाहिर मात्र परिचालन गर्ने निर्णय गरिएको छ। सुरक्षा निगरानी मजबुत बनाउन ५० भन्दा बढी अतिरिक्त सिसिटिभी क्यामेरा जडान गरिएको छ। साथै, सरकारी अनुमति प्राप्त एमबीबीएस डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी पर्याप्त औषधिसहित उपचारको व्यवस्था गरिने कोषले जनाएको छ। कोषले भक्तजनलाई सकेसम्म साना बालबालिका साथमा नल्याउन र गरगहना नलगाउन अनुरोध गर्दै मेला अवधिभर उपसमितिका कार्यको अनुगमन गरी कमीकमजोरी देखिए तत्काल सुधार गरिने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।