काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा बजेटमा उल्लेखित आकारभन्दा कुल खर्च १४.०४ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।
गत जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसअन्तर्गत चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
तर अर्धवार्षिक समीक्षापछि अर्थ मन्त्रालयले बजेट खर्चमा कटौती गर्दै संशोधित अनुमान सार्वजनिक गरेको हो । संशोधित अनुमानअनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगत खर्चतर्फ २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ०४ करोड रुपैयाँ खर्च हुने देखिएको छ ।
यो संशोधित खर्च प्रारम्भिक बजेटको तुलनामा चालु खर्चतर्फ ९५.३४ प्रतिशत, पुँजीगत खर्चतर्फ ५९.६५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८५.०२ प्रतिशत मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ ।
बजेट कार्यान्वयनमा देखिएका संरचनात्मक समस्या, राजस्व संकलनको अवस्था र खर्च व्यवस्थापनका कारण समग्र खर्च घट्ने अनुमान गरिएको मन्त्रालयको भनाइ छ ।

Comment