काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापन अन्तिम चरणमा पुर्याएको छ । आयोगले केन्द्रबाट पठाइने र जिल्लास्तरमै व्यवस्थापन गरिने सामग्रीको सूचीसमेत तय गरिसकेको छ ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार कुल ४६ प्रकारका निर्वाचन सामग्रीमध्ये ९ प्रकारका सामग्री केन्द्रबाटै प्रत्येक निर्वाचन क्षेत्रमा पठाइनेछ भने ३७ प्रकारका सामग्री जिल्लास्तरमै व्यवस्थापन गरिनेछ ।
केन्द्रबाट पठाइने सामग्रीमा निर्वाचन तालिम तथा मतदान केन्द्रका लागि आवश्यक सुरक्षणशील सामग्री, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड तथा त्यसको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका छन् ।
त्यसैगरी जिल्लास्तरमै व्यवस्थापन गरिने सामग्रीमा सिलिङ बक्स, विभिन्न अनुसूची फाराम, पुसपिन, पोल बुकका लागि प्रयोग हुने डायरी, मार्कर पेन, स्केल, स्टापलर मेसिन तथा पिन, कात्री, ग्लुस्टिक, काउन्टिङ डम्पर, पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री तथा बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसङ्ख्या सूची, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप समावेश छन् ।
यसका अतिरिक्त नेपाली कागजका खाम (१०×१५ इन्च), कपडाको नेपाली खाम (निबिदा मतपत्रका लागि), सेतो कागज, रेकर्ड फाइल, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा, कालो तथा रातो जेल पेन र मैनबत्तीका चार प्याकेटसमेत जिल्लास्तरमै व्यवस्थापन गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक सबै सामग्रीको व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

Comment