ललितपुर । नेपाली कांग्रेसका अग्रज नेता तथा पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठले लोकतन्त्रवादी शक्तिहरू कमजोर हुँदा त्यसको प्रत्यक्ष असर देशमै पर्ने बताएका छन्।
नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव स्वर्गीय ध्रुव थापाको स्मृतिमा ध्रुव थापा स्मृति प्रतिष्ठानद्वारा आयोजित १४औँ स्मृतिसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले प्रजातन्त्रवादी शक्तिहरूबीच एकता नहुँदा नागरिकहरूले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गरे।
उहाँले निर्वाचनको अभियानमा युवापुस्तासँग विशेषगरी ‘जेनजी’ पुस्तालाई बुझ्न र बुझाउन आवश्यक रहेको बताए। भरपर्दो नेतृत्व र स्पष्ट दूरदर्शिता नभएका व्यक्ति तथा पार्टीले देशलाई स्थायित्व दिन नसक्ने स्पष्ट पार्दै उहाँले सत्ता र शक्ति हासिल गर्ने मात्र सोच राख्ने शक्तिप्रति सचेत रहनुपर्ने धारणा राखे। भरोसा गर्न नसकिने व्यक्ति र पार्टीको पछि लाग्नु घातक हुन सक्ने उहाँको भनाइ थियो।
पूर्वमन्त्री श्रेष्ठले ३० अर्ब रुपैयाँभन्दा बढी बजेट भएको महानगरको नेतृत्व सम्हालेर पनि कार्यकाल पूरा गर्न नसकेको व्यक्तिबाट देशको समृद्धि सम्भव नहुने दाबी गरे। उहाँले नेपाली कांग्रेसले मात्रै जनताप्रति प्रतिबद्ध भएर राष्ट्रहितमा काम गर्न सक्ने विश्वास व्यक्त गरे।
स्वर्गीय ध्रुव थापाले प्रजातन्त्रको सुदृढीकरणका लागि पुर्याएको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले विशेष अधिवेशनले पार्टीभित्र सबैको अपनत्व सिर्जना गरेको बताए। नेपाली कांग्रेस बहुमत–अल्पमतको आधारमा मात्रै होइन, सहमति र सहकार्यका माध्यमबाट अघि बढ्ने पार्टी बन्ने अभियानमा रहेको जानकारी पनि उहाँले दिए।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले स्वर्गीय थापाको जिम्मेवार सहयोगका कारण आफ्नो सभापतित्वको कार्यकाल सफल भएको बताए। उहाँले राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत स्वर्गीय थापाले उल्लेखनीय योगदान पुर्याएको स्मरण गरे। संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताउँदै कांग्रेसकै नेतृत्वमा जेनजी आन्दोलनको मर्मअनुसार युवाको सोचलाई समेट्दै शान्ति, सद्भाव र समृद्धि हासिल गर्न सकिने धारणा उहाँले राखे।
नेपाली कांग्रेस ललितपुरका सभापति तथा पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले पञ्चायतकालमा प्रजातन्त्र स्थापना गर्न स्वर्गीय थापाले पुर्याएको योगदानको स्मरण गरे। उहाँसँगै कार्यसमितिमा रहेर काम गर्ने अवसर पाएको उल्लेख गर्दै सभापति श्रेष्ठले स्वर्गीय थापा सालीन र भद्र स्वभावका व्यक्ति रहेको बताए। समाजका हरेक क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई जीवितै सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिए।
कार्यक्रममा गोकुल खड्काले स्वर्गीय ध्रुव थापा मृदुभाषी, कुशल संगठनकर्ता तथा त्यागी समाजसेवी भएको बताउँदै उहाँले समाज र राजनीतिमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरे।

Comment