ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले देशको समग्र राजनीतिक, सामाजिक र आर्थिक माहोललाई नेतृत्व गर्न र सही दिशा दिन सक्ने क्षमता नेपाली कांग्रेससँग मात्रै रहेको बताएका छन्।
नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ ले आयोजना गरेको ललितपुर महानगरपालिका–२६ र २७, सुनाकोठीमा सम्पन्न क्रियाशील कार्यकर्ता भेला तथा निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अमात्यले वर्तमान अवस्थामा नेपाली कांग्रेसको जित अनिवार्य रहेको बताए।
उनले भने, “आजको अवस्थामा देशको सम्पूर्ण माहोललाई नेतृत्व गर्न र सही दिशा दिन सक्ने दल नेपाली कांग्रेस मात्रै हो। त्यसैले यो निर्वाचनमा कांग्रेसको जित अपरिहार्य छ।”
कार्यक्रममा बोल्दै अमात्यले उम्मेदवारभन्दा पनि पार्टीको चिन्ह महत्वपूर्ण हुने उल्लेख गर्दै रुख चिन्हलाई जिताउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए।
“उम्मेदवार व्यक्ति को हो भन्नेमा हामीलाई धेरै चिन्ता छैन, हामीले रुखलाई जिताउने हो। रुख जिते हामी सबै जित्छौँ, रुख हारे हामी सबै हार्छौँ,” उनले बताए।
ललितपुर क्षेत्र नं. ३ मा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। कार्यक्रमका वक्ताहरूले श्रेष्ठलाई निष्कलंक व्यक्तित्व, इमानदार छवि र हक्की स्वभावका तर्कशील तथा क्षमतावान राजनीतिज्ञको रूपमा परिचय गराएका थिए।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Comment