काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले इटहरीमा एक व्यक्तिले लगाइदिन खोजेको माला अस्वीकार गर्दै ठेलेको दृश्य समेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला उक्त घटनाको वास्तविकता भने फरक रहेको खुलेको छ।
भाइरल भिडियोमा माला लगाउन खोज्ने व्यक्ति स्वयम् रास्वपाका तर्फबाट सुनसरी क्षेत्र नम्बर–२ का उम्मेदवार लालविक्रम थापा भएको खुलेको हो। थापाले उक्त घटना कुनै नियतवश नभई अत्यधिक भिडभाडका कारण उत्पन्न भएको असमझदारी मात्र भएको स्पष्ट पारेका छन्।
थापाका अनुसार बालेन शाह खाना खानका लागि गाडीबाट ओर्लिने क्रममा उक्त घटना भएको हो। उनले भने, “उहाँले गाडीको ढोका खोल्नुभयो, म ढोकाको ठीक पछाडि थिएँ। बाहिर ठूलो भिडभाड थियो। मैले एक्कासि माला लगाइदिन खोज्दा उहाँले मलाई चिन्नुभएन। नचिनेको मान्छे वा भिडबाट कोही आयो भन्ने ठानेर उहाँले रोक्न खोज्नुभएको हो।”
आफू बालेन शाहसँग निकट सम्बन्ध भएको व्यक्ति भए पनि त्यस समयको हुलहुज्जत र हतारोका कारण बालेनले नचिनेर त्यस्तो प्रतिक्रिया दिएको थापाको भनाइ छ। उनले भने, “मैले हातमा पार्टीको झण्डा पनि बोकेको थिएँ। निर्वाचन आचारसंहिता र सुरक्षा संवेदनशीलताका कारण उहाँ तर्किएर जान खोज्नुभएको हो, मलाई ठेल्ने नियतले होइन।”
थापाका अनुसार घटनापछि घरभित्र प्रवेश गरेपछि दुबैबीच कुराकानी भएको र त्यसक्रममा बालेनले माफीसमेत मागेका थिए। “भित्र पुगेपछि उहाँले ‘ए, तपाईं पो हुनुहुँदो रहेछ, मैले त थाहा नै पाइनँ’ भन्दै सरी भन्नुभयो,” थापाले भने, “त्यसपछि मैले उहाँलाई माला लगाइदिएँ र उहाँले खुसीसाथ स्वीकार गर्नुभयो।”
रास्वपामा माला र खादाको औपचारिक संस्कृति नभए पनि इटहरीमा भावी प्रधानमन्त्रीको रूपमा हेरिएका नेतालाई आफ्नै घरमा स्वागत गर्न खोज्दा यस्तो संयोग परेको थापाले बताए।
सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोप्रति गलत अर्थ नलगाउन आग्रह गर्दै थापाले यसलाई सामान्य मानवीय त्रुटिका रूपमा बुझिदिन सबैसँग अनुरोध गरेका छन्।

Comment