काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीको आईपीओमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।
यद्यपि, मागभन्दा बढी आवेदन परेमा सो अगावै जुनसुकै समयमा पनि निष्काशन तथा बिक्री बन्द गरिने कम्पनीले बताएको छ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सो शेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Comment