तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ ।
यस्तै, समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोेढेमा दमौली भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति निर्धारण गरिएको छ ।
जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने ऐलानी प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गरेको क्षतिपूर्तिको विषयलाई सम्बोधन गर्न मुआब्जा निर्धारण समितिको बसेको थियो ।
बैठकले मन्त्रिपरिषद् बैठकबाट आयोजनाको जलाशय तथा बफर जोनको सीमाङ्कनभित्र लामो समयदेखि खेती, उपयोग, बसोबास भई आएका ऐलानी जग्गासम्बन्धी स्थलगत अध्ययन तथा सर्वेक्षण गर्न मुआब्जा निर्धारण समितिलाई तोकिएको अतिरिक्त जिम्मेवारीका विषयमा छलफल भएको थियो ।
आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज–३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख डलरका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Comment