काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शहीददको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन्। शहीद दिवसका अवसरमा सन्देश जारी गरीराष्ट्रपति पौडेलले शहीदको आकाङ्क्षा साकार पार्न प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन्।
नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
‘नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरुमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूप्मा हामीले मनाउँदै आएका छौँ’, सन्देशमा भनिएको छ, ‘महान् शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु।’

Comment