काठमाडौँमा प्रहरीले गोली प्रहार गरेर पक्राउ गर्‍यो १० ‘लुटेरा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीले काठमाडौँको मूलपानी क्षेत्रबाट १० जना लुटेरालाई पक्राउ गरेको छ। चेकपोइन्टमा खटिएका प्रहरीमाथि मोटरसाइकलले ठक्कर दिँदै भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदा एक जना लुटेरा घाइते भएका छन्।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार घटना गएराति करिब १२:१५ बजे भएको हो। मूलपानीमा चेकपोइन्ट खडा गरी सवारीसाधन जाँच गरिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिहरूले ड्युटीमा रहेका प्रहरीलाई नै ठक्कर दिँदै भाग्न खोजेपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको हो।

प्रहरीको गोली लागेर एक जना लुटेरा घाइते भएका छन् भने सोही क्रममा प्रहरीले उनीसहित थप १० जनालाई नियन्त्रणमा लिएको छ। गोली लागेका युवकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट चेकपोइन्टमा खटिएका प्रहरी सहायक हबलदार मोहन भट्ट र प्रहरी जवान पुष्पराज भण्डारी घाइते भएका छन्। उनीहरूको अवस्था पनि सामान्य रहेको एसपी भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू काठमाडौँ उपत्यकामा भएका विभिन्न लुटपाटका घटनामा संलग्न समूहका सदस्य हुन्। लुटपाटमा संलग्न गिरोहको खोजतलासका क्रममा उक्त समूह पक्राउ परेको प्रहरीले दाबी गरेको छ।

पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक नगरिएको र उनीहरू सबै काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेको जनाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।