काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म निर्जीवन बीमकहरुले २३ अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म १४ वटा निर्जीवन बीमकले १४ लाख १९ हजार ५४८ वटा बीमालेख जारी गरेर २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। जुन गत वर्षको भन्दा १३.३७ प्रतिशतले बढि हो ।
अघिल्लो आर्थिक वर्षको पुससम्म कम्पनीहरुले १३ लाख ८९ हजार ३१९ वटा बीमालेख जारी गरेर २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
पुससम्म शिखर इन्स्योरेन्सले सर्वाधिक धेरै कमाएको छ । चालु आर्थिक वर्षको पुससम्म शिखर इन्स्योरेन्सले २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले २ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले शिखर इन्स्योरेन्स पछि सबैभन्दा धेरै व्यापार भित्र्याएको छ । समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। चालु वर्षको पुससम्म यो कम्पनीले २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसैगरी, ६ महिनाको अवधिमा सिद्धार्थ प्रिमियर एभरेस्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड ६५ लाख रुपैयाँ व्यापार भित्र्याएको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड ८० लाख रुपैयाँ व्यापार भित्र्याएको छ ।
यसैगरी, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
समिक्षा अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड २२ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै पुस मसान्तसम्म नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

Comment