काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा सिन्धु विकास बैंक लिमिटेडको खुद नाफामा गिरावट आएको छ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंक १ करोड ५४ लाख ६८ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड ८७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट देखिएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी १४.४३ प्रतिशतले घटेर ८ करोड ८ लाख ५ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ९ करोड ४४ लाख ४४ हजार रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ऋणात्मक देखिएको छ। अघिल्लो वर्ष ६ करोड ९५ लाख ७७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंक यस वर्ष १ करोड ५५ लाख १८ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको छ।
यस्तै पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २३ करोड ९५ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ५.५७ रुपैयाँ ऋणात्मक छ। यस्तै समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ९४.१८ रुपैयाँ रहेको छ।
चुक्तापुँजी ५५ करोड ७४ लाख ५८ हजार रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ २२ करोड ६५ लाख ८२ हजार रुपैयाँ ऋणात्मक छ भने जगेडा कोषमा १९ करोड ६१ लाख ५७ हजार रुपैयाँ रहेको छ।
पुस मसान्तसम्म बैंकले ५ अर्ब ६६ करोड ७ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २९ करोड ६३ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा ६.३८ प्रतिशत पुगेको छ।

Comment