प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण, पुससम्म ४५.१६ प्रतिशत प्रगति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण गर्दा धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा असर नपुग्नेगरी काम गर्न निर्देशन दिएकी छन्। उनले आज ललितपुरको खोकनामा आयोजित कार्यक्रममा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निरीक्षण गर्दै स्थानीय समुदायका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिन र आवश्यक परे रेखाङ्कन वा जिरोविन्दु परिवर्तन गर्न तयार रहन भनिन्। प्रधानमन्त्री कार्कीले भनिन्, “स्थानीयको विश्वासमा आघात नपुग्ने गरी हाम्रो विकास निर्माण अघि बढाउनुपर्छ। आवश्यक परेको खण्डमा योजना परिमार्जन गर्न पनि तयार हुनुपर्छ।”

निर्माण कार्यको क्रममा पर्याप्त खाली तथा खुला ठाउँको व्यवस्थापन अनिवार्य हुने पनि उनले स्पष्ट पारिन्, जसले प्राकृतिक विपद्का बेला सुरक्षा सुनिश्चित गर्ने साथै मेला, पर्व र सार्वजनिक जमघटका लागि स्थान उपलब्ध गराउनेछ। उनले आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले र प्रधानसेनापति अशोकराज सिग्देलले प्रस्तुत गरेका निर्माण प्रगति र चुनौतीबारे जानकारी लिएर काम छिटो सम्पन्न गर्न निर्देशन दिइन्। निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्रीलगायत सहभागी थिए।

काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने करिब ७१ किलोमिटर लामो यो द्रुतमार्ग सबैभन्दा छोटो दूरीको मार्ग भएकोले राष्ट्रिय गौरवको आयोजनामा राखिएको हो। चार लेनको सडक निर्माण नेपाली सेनाको व्यवस्थापन र निगरानीमा भइरहेको छ। आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म २०८२ पुससम्म भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको छ। सरकारले २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँको लगानीमा एसियाली राजमार्ग डिजाइन मापदण्ड (१९९३) अनुसार निर्माण गरिरहेको यो सडक, नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता चुनौतीका बावजुद प्राथमिकता परियोजनाको रूपमा अघि बढिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।