काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र–२०९१ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको बोलकबोल बुधबार माघ १४ गते हुने जनाइएको छ।
कार्यालयले जारी गरेको सुचना अनुसार बुधबार बोलकबोल हुने ऋणपत्रको साँवा भुक्तानी २०९१ माघ १५ गते हुने छ । ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आर्जित ब्याजमा आयकर लाग्ने छ । यस ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन वा दिन सकिने छ ।
ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था र आम नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदनकर्ताले माघ १४ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म अनलाइन प्रणाली मार्फत बोलकबोल पेश गर्नुपर्ने छ ।
कुल निष्कासित रकममध्ये ८ अर्ब ५० करोड (८५ प्रतिशत) रुपैयाँ प्रतिस्पर्धी बोलदाताहरुलाई र १ अर्ब ५० करोड (१५ प्रतिशत) रुपैयाँ अप्रतिस्पर्धी बोलकबोलदाताको लागि छुट्याइएको छ । लगानीकर्ताले कम्तीमा ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल गनुपर्ने छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु बाहेकका बोलकबोलदाताहरुले आफुले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले अर्नेष्ट मनी वाफतको रकम नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र आवेदन खातामा जम्मा गरेको भौचर पेश गर्नुपर्ने छ ।

Comment