काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरी खाता खोल्ने व्यस्था गरिएको छ ।
प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।
निर्वाचन आयोगको अनुरोधबमोजिम जारी गरिएको यस व्यवस्थाअनुसार पार्टी तथा उमेदवारहरूको चुनावी खर्च र आम्दानीको कारोबारका लागि छुट्टै बैंक खाता खोल्न पाउने व्यवस्था गरिएको हो । जसअन्तर्गत आयोगले प्रत्येक राजनीतिक दल, राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व गर्ने उमेदवारहरू (समानुपातिक उमेदवार समेत) र स्वतन्त्र उमेदवारहरूलाई चुनावी हिसाब(किताब खातामार्फत गर्न भनिएको छ ।
राष्ट्र बैंकका अनुसार, यी खाताहरू नेपाली मुद्रामा मात्र सञ्चालन हुने गरी एउटा (एक मात्र) खाता खोल्न पाइनेछ । यस्तो खाता खोल्नका लागि निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं। २१ को बुँदा नं। ४५ मा उल्लेख भएअनुसार “कुनै पनि व्यक्तिले एउटै बैंक वा वित्तीय संस्थामा एउटै प्रकृतिको एकभन्दा बढी स्वदेशी मुद्राको खाता खोल्न नपाउने” व्यवस्था छ । तर, निर्वाचन प्रयोजनका लागि खोलिने यी खाताहरूको हकमा भने उक्त प्रतिबन्धात्मक व्यवस्था लागु नहुने गरी विशेष छुट प्रदान गरिएको छ । यस्तो खाता आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ ।

Comment