काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) ले माघ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं बिजनेस एक्सपो–२०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले काठमाडौंको ऐतिहासिक स्थल भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुने एक्सपो भव्य, व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो।
संघका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यका साथ एक्सपो आयोजना गर्न लागिएको हो। स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना हुने महोत्सवले घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र दृश्यता प्रदान गर्ने विश्वास लिइएको छ।
एक्सपोमा २०० भन्दा बढी अत्याधुनिक र व्यवस्थित व्यावसायिक स्टलहरू रहनेछन्। जहाँ स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायत बहुआयामिक गतिविधिहरू सञ्चालन गरिनेछ। महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।
महोत्सवमार्फत स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, रोजगारी प्रवर्द्धन र समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिइएको संघले जनाएको छ। साथै काठमाडौं महानगरपालिकाको ‘एक वडा, एक नमूना उत्पादन’ अवधारणासँग सहकार्य गर्दै बजार प्रवर्द्धनमा विशेष जोड दिइने बताइएको छ।
एक्सपोमा कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फुड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्ग्यानिक उत्पादन, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य, निर्यात–आयात तथा जिल्लागत विशेष उत्पादन क्षेत्रका प्रदर्शकहरूको सहभागिता रहनेछ।
महोत्सवको प्रभावकारिता र पहुँच विस्तारका लागि विभिन्न प्रायोजन प्याकेजहरू खुला गरिएको संघले जनाएको छ।
यसअनुसार आइडिया फर वर्ल्ड टाइटल स्पोन्सर, एईसीसी ग्लोबल ‘प्रिजेन्टेड बाइ’ तथा स्वारी नेपाल ‘पावर्ड बाइ’ रहेका छन्।
यस्तै कजारिया टाइल्स, साल्ट ट्रेडिङ कर्पोरेशन, फेसियल हाउस, श्रीनाथ कलेक्सन को–स्पोन्सरका रूपमा रहेका छन्।
एनएमबी बैंक बैंकिङ पार्टनर, नेको इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर, अग्नी इक्जिम लिमिटेड इक्जिम पार्टनर, जिल्ला होटल व्यवसायी संघ काठमाडौं फुड कोर्ट पार्टनरलगायत विभिन्न संस्थाहरूको सहकार्य रहेको संघले जानकारी दिएको छ।
महोत्सव उद्घाटनको अवसरमा बसन्तपुरदेखि भृकुटीमण्डपसम्म प्रचारात्मक झाँकी तथा र्याली आयोजना गरिनेछ। माघ १४ गते बिहान ९ बजे बसन्तपुरस्थित कुमारी घरमा पूजाआजापछि र्याली सुरू भई भृकुटीमण्डप पुगेर औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरिने तयारी छ।
एक्सपोको प्रभावकारी प्रचार–प्रसारका लागि संघले सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरूलाई सहयोग गर्न आग्रह गरेको छ।

Comment