काठमाडौं । उद्योग संगठन मोरङ र राष्ट्रिय व्यावसायीक पहलको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वयमा “निजी क्षेत्रः प्रश्न, पहिचान र प्रतिबद्धता” विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा निजी क्षेत्रले भोग्दै आएको चुनौती, अनिश्चितता र सरकारसँगको नीति अस्थिरता, सामाजिक भ्रम र लगानीमाथि परेको असरमाथि गम्भीर छलफल भएको थियो। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रले आफ्नो देशमै लगानी गर्न डराउने अवस्था सिर्जना भएको बताए भने राष्ट्रिय व्यावसायीक पहलका अध्यक्ष कुशकुमार जोशीले निजी क्षेत्रको मनोबल कमजोर भएको र यसले नयाँ लगानीमा असर गरेको प्रष्ट पारे।
प्यानलमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, इन्सेकका पूर्व अध्यक्ष सुवोधराज प्याकुरेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा लगायतले निजी क्षेत्रलाई स्थिर, सुरक्षित र भरोसायोग्य वातावरण प्रदान गर्न राज्य र सरोकारवालाको साझा जिम्मेवारी भएको बताएका थिए।
कार्यक्रमले निजी क्षेत्रलाई समाजमा सकारात्मक दृष्टिकोण र आत्मविश्वास पुनःस्थापना गर्दै दीगो नीति, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता प्रकट गरेको आयोजकहरूले जानकारी दिएका छन्।

Comment