जनकपुरधाम । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको ‘मधेश प्रदेशस्तरीय चुनावी सभा’ स्थगित गरेको छ। निर्वाचन आयोगको कडा निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताका कारण पार्टीले कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको हो।
नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभागका प्रमुख नितेशकुमार गुप्ताका अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र त्यसपछिको राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै आयोगले जारी गरेको परिपत्रलाई सम्मान गर्दै सभा स्थगित गरिएको हो।
यसअघि कांग्रेसले मधेश प्रदेशका आठै जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता तथा समर्थक उतारेर जनकपुरधाममा शक्ति प्रदर्शन गर्ने व्यापक तयारी थालेको थियो। सभामा पार्टी सभापति गगन थापासहित शीर्ष नेताहरूको सम्बोधन तय गरिएको थियो।
‘हामीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी र नैतिक जिम्मेवारीलाई आत्मसात् गरेका छौँ,’ प्रचार विभाग प्रमुख गुप्ताले भने, ‘निर्वाचन आयोगको पछिल्लो निर्देशनका कारण पूर्वनिर्धारित कार्यक्रमलाई हालका लागि स्थगित गरी अनुकूल समयमा आयोजना गर्ने निर्णयमा पुगेका हौँ।’
अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएपछि स्थानीय कार्यकर्तामा केही अन्योल देखिएको छ। यद्यपि, प्रदेश समितिले ठूला सभा स्थगित भए पनि पार्टीका आन्तरिक बैठक, संगठन विस्तार तथा चुनावी तयारीसम्बन्धी प्राविधिक कामलाई निरन्तरता दिने जनाएको छ।
राष्ट्रिय सभा निर्वाचनको अवधि नजिकिँदै जाँदा निर्वाचन आयोगले तडकभडक तथा ठूला राजनीतिक सभामा कडाइ गरेपछि कांग्रेसले आफ्नो रणनीति परिवर्तन गर्दै कार्यक्रम पछि सारेको बुझिएको छ।

Comment