काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराउने निर्णय गरेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले स्कटल्यान्डलाई मौका दिएको हो ।
बीसीबीले निरन्तर भारतमा खेल्न नजाने र आफ्ना खेलहरू श्रीलंकामा सार्न माग गर्दै आएको थियो । आईसीसीले पनि विश्वकप पूर्वनिर्धारित तालिका अनुसार नै अगाडि बढ्ने बताउँदै आएपनि बंगलादेश पनि आफ्नो निर्णयबाट पछि हटेको थिएन ।
बिहीबार बीसीबीले राष्ट्रिय टिमका खेलाडी र सरकारका खेलकुद सल्लाहकारसँगको बैठकपछि पनि टोली प्रतियोगिताका लागि भारत नजाने अडान कायमै राखेको थियो ।
त्यसअघि बुधबार भएको बोर्ड बैठकपछि आईसीसीले बीसीबीका सुरक्षा चिन्तालाई अस्वीकार गर्दै, भारतमा खेल्न नगए बंगलादेशलाई हटाएर अर्को टिमलाई मौका दिने चेतावनी दिएको थियो ।
यसकारण अब बंगलादेशको स्थानमा स्कटल्यान्डले मौका पाउने भएको हो । स्कटल्यान्डले युरोपियन छनोट पार गर्न नसक्दा विश्वकपमा स्थान बनाउन सकेको थिएन । विश्वकपमा सहभागी टोलीबाहेक सबैभन्दा माथिल्लो वरियतामा रहेका आधारमा स्कटल्यान्डले खेल्ने मौका पाएको हो ।
अब स्कटल्यान्डले समूह ‘सी’ मा नेपाल, इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।
आईपीएल टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि बीसीबी र भारतीय क्रिकेट बोर्डबीच विवाद सुरु भएको थियो ।

Comment