एल्वीन टफ्लरको सूत्र र नेपाली कांग्रेसको संकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सागर शाक्य

‘जब भयो राति, तब बुढी ताती’ भन्ने उखान नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूमा ठ्याक्कै लागू हुन्छ। अघिपछि आफ्नै स्वार्थ र गुटगत ध्याउन्नमा व्यस्त देखिने कांग्रेसजनहरू चुनाव नजिकिँदै जाँदा भने टिकटका लागि मरिहत्ते गर्न थाल्छन्। टिकट वितरणपछि असन्तुष्टि चुलिन्छ, पार्टी फुट्ने हो कि भन्ने आशंका पैदा हुन्छ। तर मतदानको मिति नजिकिँदै जाँदा ती सबै मतभेद बिर्सेर फेरि एकढिक्का हुने कांग्रेसको इतिहास पुरानै हो। समस्या के भने, यतिन्जेलसम्म निर्णायक मतदाताहरू प्रतिस्पर्धी दलतिर ढल्किसकेका हुन्छन्।

यति हुँदाहुँदै पनि नेपाली कांग्रेस आजसम्म मुलुकको सबैभन्दा ठूलो दलका रूपमा टिकिरहन सफल भएको छ। यसको कारण इतिहास, संगठन र लोकतान्त्रिक विरासत हो। तर यो विरासत आफैं सुरक्षित रहन्छ भन्ने भ्रम कांग्रेसकै लागि सबैभन्दा ठूलो खतरा बनेको छ।

यसपटकको निर्वाचनपूर्व अवस्था भने सामान्य थिएन। गुट–उपगुटबीचको द्वन्द्व झनै चर्कियो। पार्टी विभाजनको संघारमै पुगेको अनुभूति कार्यकर्तादेखि शुभचिन्तकसम्मले गरे। टिकटका आकांक्षीहरू कुन कित्ता बलियो छ भन्ने हिसाब–किताबमा लागे। निष्ठा होइन, सम्भावनाको राजनीतिले प्राथमिकता पायो।

नुवाकोटको सन्दर्भमा यो दृश्य नयाँ थिएन। २०४८ सालदेखि नै त्यहाँ कांग्रेसको टिकट ‘घराना’ वरिपरि घुम्दै आएको छ भन्ने आमधारणा छ। ती घरानाहरू आपसमा नमिले पनि तेस्रो पात्रको सम्भावना देखिँदै जाँदा एकै ठाउँमा उभिने प्रवृत्ति पुरानै हो। यही संरचनाले कांग्रेसभित्र नयाँ नेतृत्व र नयाँ विचारको प्रवेश कठिन बनाउँदै आएको छ।

यद्यपि यसपटक केही फरक संकेत देखिए। पुरानालाई अभिभावकीय भूमिकामा राख्दै नयाँ पुस्तालाई अघि सार्ने एजेन्डासहित युवा नेताहरू नेतृत्व तहमा पुगे। यसले कांग्रेसभित्र आशाको झिल्को पैदा गर्‍यो। नुवाकोटमा पनि पुराना नेताहरूको सहमतिमा अघि बढ्न सक्ने पात्रको खोजी सुरु भयो। यही सन्दर्भमा सागर शाक्यको नाम चर्चामा आउनु संयोग होइन।

यससँगै नुवाकोट कांग्रेसको वैचारिक जग मानिने चक्रमान शाक्यको योगदान स्मरणीय छ। राणाकालमै नुवाकोटमा आधुनिक शिक्षाको उज्यालो फैलाएका चक्रमान शाक्य केवल शिक्षक मात्र थिएनन्, लोकतान्त्रिक चेतनाका संवाहक थिए। शिक्षा र राजनीतिलाई समाज रूपान्तरणको औजार बनाउने उनको सोच आज पनि सान्दर्भिक छ।

एक समय एल्विन टफ्लरको द पावर सिफ्ट पुस्तकमा पढिएको एउटा वाक्य अहिलेको नेपाली समाजमा झनै घोच्ने गरी उभिन्छ—“२१औँ शताब्दीका निरक्षर ती होइनन्, जो पढ्न–लेख्न जान्दैनन्; निरक्षर ती हुन्, जो सिक्न चाहँदैनन्।” आज हाम्रो समस्या साक्षरताको कमी होइन, चेतनाको अभाव हो।

२००७ सालताका निरक्षर जनता पनि अन्यायविरुद्ध उभिन्थे। आज करिब ७० प्रतिशत साक्षर समाज भ्रम, भड्काउ र लोकप्रियतावादको पछि लागिरहेको छ। बनाउनेभन्दा भत्काउनेहरू लोकप्रिय बन्दै गएका छन्। यो प्रवृत्ति लोकतन्त्रका लागि खतराको घण्टी हो।

लोकप्रियतावाद राजनीतिको गरिमा घटाउने माध्यम हो। वैचारिक शून्यतामा उभिएको लोकप्रियतावाद अन्ततः अधिनायकवादतर्फ जान्छ भन्ने इतिहासले देखाइसकेको छ। बिपी कोइरालाले बहुदलीय व्यवस्थापछिको यही खतरा समयमै औंल्याउनुभएको थियो।

नेपाली कांग्रेस आज यही मोडमा उभिएको छ। प्रश्न सरल छ—कांग्रेस कहाँ चुक्यो? उत्तर पनि त्यत्तिकै गम्भीर छ—वैचारिक प्रशिक्षण, संगठनात्मक अनुशासन र राजनीतिक साक्षरतामा।

२१औँ शताब्दीका निरक्षरहरूबाट कांग्रेस मुक्त हुन सकेन भने मुलुकको लोकतान्त्रिक भविष्य सुरक्षित रहँदैन। कांग्रेस सुध्रियो भने मात्रै अरू दलहरू सुध्रिने सम्भावना रहन्छ। त्यसैले नेपाली कांग्रेसको आत्मसमीक्षा केवल पार्टीको आन्तरिक विषय होइन, यो मुलुकको राजनीतिक भविष्यसँग प्रत्यक्ष जोडिएको प्रश्न हो।

शाक्य नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।