काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरिसकेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ ल्याउन लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिसकिएको छ।
अब कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुने जनाइएको छ।
आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

Comment