काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। २०४८ सालदेखि गृहजिल्ला डडेल्धुराबाट निरन्तर उम्मेदवार बन्दै आएका र प्रत्येक निर्वाचनमा विजयी हुँदै आएका देउवाले यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका हुन्।
पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले देउवालाई निर्वाचन नलड्न अनुरोध गरेका थिए भने देउवाले अन्तिम पटक चुनाव लड्ने संकेत गर्दै आएका थिए। तर सोमबार राति उनले अन्ततः उम्मेदवार नबन्ने निर्णय गरेको जानकारी उनका सहयोगी भानु देउवाले दिएका छन्।
यसैबीच, कांग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्का, शेखर कोइराला लगायतका नेताहरूको उम्मेदवारी पनि अझै निश्चित भइसकेको छैन। उपसभापति विश्वप्रकाश शर्माले भने आफू निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट गरिसकेका छन्। देउवा र कोइराला पक्षका केही नेताहरू भने गगन थापासँग टिकट लिएर जिल्ला फर्किएको बताइएको छ।
निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस आन्तरिक विवादमा फसेको देखिएको छ। पार्टीभित्रको नेतृत्व विवाद चर्किँदै जाँदा सभापति गगन थापाविरुद्ध देउवा र खड्काले अदालतमा मुद्दा दायर गरेका छन्, जसको पेसी मंगलबार तोकिएको छ।

Comment