काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर आगामी प्रतिनिधिसभा निर्वाचनमा एकआपसमा प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा उनीहरू झापा क्षेत्र नं. २ बाट उम्मेदवार बनेपछि प्रत्यक्ष चुनावी भिडन्त तय भएको हो।
नेकपा एमालेले झापा–२ बाट सभामुख देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ। घिमिरे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरलाई झापा–२ बाट उम्मेदवार बनाएको छ। रानामगर २०७९ सालको निर्वाचनमा समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्।
पूर्व सभामुख र उपसभामुखबीचको प्रत्यक्ष प्रतिस्पर्धाले झापा–२ को चुनावी माहोल थप रोचक र चर्को बन्ने अपेक्षा गरिएको छ।

Comment