विदुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोट जिल्लामा नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेस संसदीय दलको बोर्डले क्षेत्र नं. १ बाट कांग्रेसका पूर्व प्रवक्ता डा. प्रकाशशरण महत र क्षेत्र नं. २ बाट संविधानसभा सदस्य तथा कांग्रेसका पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
डा. महत र केसी दुवै प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक उम्मेदवार बन्न लागेका हुन्। डा. महतले यसअघि प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका छैनन् भने केसीले गत निर्वाचनमा बागमती प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा भने उनी पराजित भएका थिए।
पार्टीभित्र देखिएको आन्तरिक विवादलाई तत्कालका लागि स्थगित गर्दै सिंगो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने त्रिपक्षीय सहमति भएपछि कांग्रेसले टिकट वितरण पनि आपसी समझदारीका आधारमा गरेको हो। पार्टी एकतासहित चुनावी प्रतिस्पर्धामा जाने रणनीतिअनुसार उम्मेदवार छनोट गरिएको कांग्रेस नेताहरूको भनाइ छ।
टिकट पक्का भएसँगै दुवै उम्मेदवारले भोलि हुने मनोनयन दर्ताका लागि आफ्ना समर्थक तथा कार्यकर्तालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित हुन आह्वान गरेका छन्। कांग्रेसले नुवाकोटमा संगठित र एकजुट अभियानमार्फत निर्वाचन जित्ने दाबी गरेको छ।

Comment