रास्वपा : रवि चितवन, बालेन झापाबाट चुनाव लड्ने, अरु को कहाँबाट उठ्दैछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न ‘जेन–जी आन्दोलन’पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्ताबाट बाहिरिएसँगै देश पुनः निर्वाचनमा होमिएको छ। छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने संवैधानिक म्यान्डेट पाएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते चुनावको मिति घोषणा गरिसकेको छ।

निर्वाचन तालिकाअनुसार माघ ६ गते देशभर राजनीतिक दलहरूले उमेदवारी दर्ता गराउनेछन्। यही सन्दर्भमा अहिले सबैभन्दा बढी चर्चा र चासोको केन्द्रमा रहेको दल हो— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)। सभापति रवि लामिछाने नेतृत्वको रास्वपा देशव्यापी रूपमा उमेदवार छनोट र निर्वाचन तयारीमा व्यस्त देखिएको छ।

रास्वपाले निर्वाचन केन्द्रित पहिलो चुनावी घोषणासभा माघ ५ गते जनकपुरमा आयोजना गर्ने तयारी गरेको छ। उक्त सभामा रास्वपा सभापति लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पहिलो पटक एउटै मञ्चमा देखिने तय भएको छ।

पूर्वसहमति अनुसार, रास्वपाले निर्वाचनपछिको संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उमेदवारका रूपमा बालेन शाहलाई अघि सारेको जनाएको छ। बहुमतसहित सरकार गठन गर्ने दाबी गर्दै आएको रास्वपाले देशभरका सबै निर्वाचन क्षेत्रमा उमेदवारी दिने तयारी गरेको छ।

को कहाँबाट चुनावी मैदानमा?

रास्वपाका एक नेताका अनुसार उमेदवार छनोट अझै अन्तिम टुंगोमा नपुगे पनि अधिकांश उम्मेदवारी मोटामोटी रूपमा टुंगिएको छ।

सभापति रवि लामिछाने चितवन–२ बाट उमेदवार बन्ने लगभग निश्चित छ। उनी २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट दुई पटक विजयी भएका थिए। त्यस्तै, बालेन्द्र शाह झापा–५ बाट उमेदवारी दर्ता गर्ने अन्तिम तयारीमा छन्। बालेनको चुनावी क्याम्पेन टोली झापा पुगेर सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेको छ।

झापा–५ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, जहाँबाट उनी निरन्तर निर्वाचित हुँदै आएका छन्। बालेनले माघ ३ वा ४ गते मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा निस्कने तयारी गरेका छन्।

रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल काठमाडौं–९ र डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाटै चुनाव लड्ने तयारीमा छन्। पार्टी नेता शिशिर खनाल काठमाडौं–६, हरि ढकाल चितवन–१, र २०७९ मा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम चितवन–३ बाट प्रतिस्पर्धामा उत्रिने तयारीमा छिन्।

चितवन–३ सोविताको गृह क्षेत्रसमेत हो। सोही क्षेत्रमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चुनाव लड्ने चर्चा पनि चलिरहेको छ। रेनु पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन्।

यसैगरी, डा. तोसिमा कार्की ललितपुर–३, गणेश पराजुली काठमाडौं–७, विराजभक्त श्रेष्ठ काठमाडौं–८, पार्टी प्रवक्ता मनिष झा धनुषा–३, दिपक बोहोरा कञ्चनपुर–२ बाट उमेदवारी दिने तयारीमा छन्।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ र सुनिल लम्साल रुपन्देही–१ बाट उम्मेदवार बन्ने तयारीमा छन्। त्यस्तै, डडेलधुरामा बालेन पक्षबाट सागर ढकाललाई शेरबहादुर देउवासँग प्रतिस्पर्धा गराउने तयारी गरिएको छ।

उमेदवार छनोट प्रक्रिया

रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उमेदवार छनोट उपसमिति गठन गरेको छ। उपसमितिलाई योग्य उमेदवारको सिफारिस तथा छनोट प्रक्रियाको जिम्मेवारी दिइएको छ। पार्टी सदस्यहरूले अनलाइनमार्फत उमेदवारी दर्ता गराइरहेका छन्। आकांक्षीको संख्या धेरै भएकाले आन्तरिक प्रतिस्पर्धाबाट उमेदवार छनोट गरिने पार्टीले जनाएको छ।

२०७९ को निर्वाचनमा समानुपातिकसहित २१ सिट जित्दै चौथो ठूलो शक्ति बनेको रास्वपाले यसपटक १५१ सिट जितेर बहुमतको सरकार गठन गर्ने दाबी गर्दै आएको छ।

“उमेदवारको अन्तिम टुंगो लागेको छैन। तर यसअघि निर्वाचित अधिकांश नेताहरू पुरानै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्नेछन्,” रास्वपाका एक नेताले भने, “आकांक्षी धेरै छन्, सक्षम र योग्य नेतृत्वलाई अघि सार्ने हाम्रो उद्देश्य हो।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।